काठमाडौँ । विदेशी मुद्रा सञ्चिति बढाउन चार महिनाअघि विलासिताका १० वस्तुको आयात बन्देज गरेको सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे,कुरमुरे,लेज, रंगीन टीभी, हिराको आयात खुलाउने निर्णय गरेको छ ।
सबै प्रकारका तयारी मदिरा, जिप, कार र भ्यान, मोटरसाइकल (१५० सीसीमाथिका), स्मार्ट फोनको आयात बन्देज भने यथावत् राखिएको छ ।
अर्थतन्त्र नाजुक बन्दै गएपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना निकालेर विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसलाई कसिलो बनाउँदै गत असार ३१ देखि भदौ १४ सम्म बन्देजलाई निरन्तरता दिइएको थियो । राजपत्रमा भदौ १३ मा प्रकाशित सूचनामा चार वस्तु (सबै प्रकारका तयारी मदिरा, स्मार्ट फोन, जिप, कार र भ्यान, मोटरसाइकल १५० सीसीमाथिका) को आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याइएको उल्लेख छ ।
सरकारी तथ्यांकअनुसार विलासिताका वस्तुमा बन्देज लगाएपछि आयात केही घटेको छ । अघिल्लो वर्षको साउनभन्दा यो साउनमा कुल आयात १९ अर्ब ४५ करोड रुपैयाँ बराबरले घटेको भन्सार विभागले जनाएको छ ।