काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
काठमाडौंमा कम्तिमा २ सीट जित्ने रणनीति लिएको माओवादीले घिसिङलाई उम्मेदवार बनाउनेबारे छलफल शुरु गरेको हो ।
शनिबार ११ भदौमा माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बालेन शाहकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताउनुभएको थियो ।
शनिबार दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सोच्दै नसोचेको मान्छेलाई काठमाडौंमा ल्याउने आफ्नो विचार रहेको बताउनुभएको थियो ।
अध्यक्ष दाहालले बागमती प्रदेशमा माओवादी अहिले एमालेभन्दा अघि रहेकोले प्रतिनिधिसभा चुनावमा पनि अघि हुने गरी जाने बताउदै त्यसका लागि काठमाडौंमा शून्य रहेको माओवादीले कम्तिमा २ सिट जित्ने दाबी गर्नुभएको थियो ।
अध्यक्ष दाहालको सरप्राइज दिने घोषणा लगत्तै काठमाडौं निर्वाचन क्षेत्र ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने चर्चा चलेको हो ।
स्रोतका अनुसार अध्यक्ष दाहालले नै घिसिङसँग संवाद गरिरहनुभएको छ । आउँदो १८ भदौभित्र घिसिङको चुनाव उठ्ने विषयमा टुंगो लाग्नेछ । उम्मेदवारी दिन घिसिङ राजी भए पनि थप निर्णय भने दिइनसकेको स्रोतको भनाइ छ । घिसिङले चुनावपछि पार्टी सरकारमा गएको अवस्थमा उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बनाउनुपर्ने सर्त राख्नुभएको छ । घिसिङको प्रस्तावमा अध्यक्ष दाहाल सकरात्मक भइसक्नुभएको छ ।
रामेछाप स्थायी घर भएका घिसिङको काठमाडौं ३ मा पनि प्रभाव रहेको छ । आदिवासी जनजाति र मजदुर वर्गको बाहुल्यता रहेकोले यस क्षेत्रमा घिसिङको उम्मेदवारीले उत्साह थपिने माओवादीको दाबी छ ।
तर माओवादीले भने उज्यालो नेपालका अभियन्ताको रूपमा चर्चित घिसिङको लोकप्रियताका कारण उहाँलाई उम्मेदवार बनाउन खोजिएकोमा दुई मत छैन ।
त्यसो त नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्वाचन क्षेत्र भएकोले क्षेत्र नम्बर ३ एमालेको लालकिल्लाका रुपमा परिचित छ । २०७० सालको निर्वाचनमा काँग्रेस नेता चक्रबहादुर ठकुरी निर्वाचित भए पनि २०७४ को निर्वाचनमा पुनः एमालेकै कृष्णकुमार राई प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । यसपटक पनि एमालेले राईलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।