काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै मंसिर ४ को चुनावमा जनतासँग बहुमत माग्ने निर्णय गरेको छ । तर, एमालेकै अल्पमत पक्षले भने ओलीको विकल्प अघि सार्नुपर्ने तर्क गरेका छन् ।
नेता घनश्याम भुसालले जनताले ‘नयाँ नेतृत्व खोजेको’ भन्दै ओलीको विकल्प खोजिनुपर्ने धारणा राख्नुभएको थियो ।
विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा नेता भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा गएर सफलता नपाइने भन्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने बताउनुभएको हो ।
भुसालले पूर्वसभामुख सुवास नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्नेमा जोड दिनुभएको थियो ।
‘हिजो संसद विघटन असफल भएसँगै केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो,’ बैठकमा भुसालको भनाइ थियो । फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिने भुसालको भनाइ थियो ।
नेता भुसालले विहीबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको लिखित प्रस्तावमा पनि नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने उल्लेख गर्नुभएको छ । ओलीको नेतृत्वमा चुनावमा जाँदा जनताले नपत्याउने भुसालको प्रस्तावमा उल्लेख छ ।
भुसालले स्थायी कमिटीमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘यो असाधारण चुनौतिले घेरिएको तर ऐतिहासिक अवसर बाँकी नै रहेको अवस्था हो । यस अवस्थामा पनि इतिहासमा हामीले गरेका कमजोरीको जिम्मेवारीबाट उम्किने प्रयास गर्यौं भने आन्दोलन र पार्टीमाथि घोर बेइमानी हुनेछ । जनताले समग्र राजनीतिमै नयाँ सङ्कल्प र नेतृत्व खोजेका छन्। त्यसलाई नजरअन्दाज गर्ने जोसुकैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
जनताको विश्वास जित्नका लागि केपी ओलीले त्याग गर्नुपर्नेतर्फ संकेत गर्दै भुसालले लिखित प्रस्तावमा लेख्नुभएको छ, ‘आउनुहोस्, जनताको चाहनालाई सम्वोधन गर्न हामी कस(कसले केके त्याग गर्नुपर्ने हो, तयार होऔँ ।’
नेता भुसालले आगामी चुनावमा केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर सफलता नपाइने विश्लेषण गरे पनि शुक्रबार र शनिबार दुई दिन बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर जनतासँग बहुमत माग्ने निर्णय गरेको छ ।