काठमाडौं । सरकारले यसअघि केही वस्तुमा लगाएको आयात प्रतिबन्धमा हेरफेरको तयारी गरेको छ ।
यसअघि प्रतिबन्ध लगाइएका वस्तुको सूचीमा थपघट गरेर फेरि आयात प्रतिबन्धको म्याद थप्ने तयारी सरकारले गरेको छ।
सरकारले गत वैशाख १३ गते विलाशी सूचीमा राखेर विभिन्न १० वस्तुमा आयत प्रतिबन्ध लगाएको थियो ।
विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताउँदै सरकारले यी वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। यी वस्तुमा दोस्रोपटक लगाइएको प्रतिबन्धको म्याद भदौ १४ गते सकिदैछ ।
नजिकिदै गएको चाडपर्व र उद्योगीको दबाबमा सरकारले आयात प्रतिबन्ध लागेका यी वस्तुको विवरण केही संशोधन गरेर प्रतिबन्धको समय थप्ने तयारी गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीका अनुसार यस्तो निर्णय फेरि मन्त्रिपरिषदले नै गर्ने छ।
स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले प्रतिबन्धित वस्तुको विवरणमा संशोधन गर्न चाहनुभएको छ । नेपालमै उत्पादन हुने केही वस्तुमा भने प्रतिबन्धलाई निरन्तरता दिने मन्त्री बडुको योजना छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार हाल प्रतिबन्धमा रहेका साना रेन्जका गाडी, मदिरा, मोबाइल सेटमा आयत खुलाउने सरकारको तयारी छ।
आर्थिक वर्ष २०७८/७९ मा वर्षमा अर्थात् यो असार मसान्तसम्म कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएर १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले बढेको थियो।
प्रतिबन्धित वस्तु
१) कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन
२) सबै प्रकारका तयारी मदिरा
३) चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन छुट)
४) हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट)
५) मोबाइल फोन सेट
६) रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथिका)
७) जीप, कार र भ्यान (एम्बुलेन्स र शववाहन प्रयोजनमा ल्याउन पाइने)
८) २५० सीसीभन्दा माथिका मोटरसाइकल
९) सबै प्रकारका खेलौना
१०) तास