काठमाडौं । संसदमा पेश भएको एमसीसी अनुमोदानका लागि नेपाली काँग्रेसले गरेको आग्रह प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनः अस्वीकार गरेको छ ।
एमसीसी अनुमोदनका लागि एमालेको साथ खोज्ने सत्ता नेतृत्व दल नेपाली कांग्रेसको प्रयास शनिवार पनि असफल भएको हो । बालकोटमा भएको छलफलमा एमाले नेताहरुले आफ्ना मागहरु पूरा नभएसम्म कुनै पनि संसदीय प्रकृयामा सामेल नहुने प्रतिकृया दिएका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदान गर्न सहयोग नगर्ने भएपछि प्रमुख प्रतिपक्षी दलको सहयोग खोज्दै काँग्रेसका दोस्रो तहका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । तर एमालेले पूरानै अडान दोहोर्याएपछि वार्ता असफल भएको हो ।
कांग्रेस–एमालको छलफलपछि संचारकर्मीलाई प्रतिकृया दिँदै संचार प्रतिविधि तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिवारपनि वार्ता असफल भएको बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले पूरानै कुरा दोहोर्याएको उहाँको भनाइ थियो ।
आफ्ना मागहरु पूरा गरेर संसदमा छलफल गर्ने वातावरण बनाए एमसीसीबारे छलफल गर्न तयार रहेको एमालेका नेताहरुको भनाइ उधृत गर्दै सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।
एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ । शनिवारको बैठकमा पनि एमालेले सोही अडान दोहोर्याएको हो ।
छलफलपछि प्रतिकृया दिँदै एमाले महाचिव शंकर पोखरलेले आफूहरुका माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रकृयामा समेल हुन नसकिने बताउनुभयो ।
शनिवारको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी हुनुभएको थिएन । दोस्रो तहका नेताहरुबीच मात्र छलफल भएको थियो ।