काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउन निर्माण गरिएको कार्यदल सहमति नजिक पुगेको छ ।
शुक्रवार बसेको कार्यदलको बैठकमा संघको निर्वाचन क्षेत्र एउटा पार्टीले पाएमा प्रदेश अर्कोलाई छाड्ने खालको मोडालिटीमा समझदारी भएको हो । कार्यदलको बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल सहमति नजिक पुगेको बताउनुभयो ।
‘सबैलाई बढी जितौं भन्ने आकांक्षा छ । त्यसैले दाबीहरु बढी नै हुन सक्छन् । त्यसलाई व्यवहारिक र अब्जेक्टिभ हिसाबले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउने छौं,’काकीले बताउनुभयो ।
उहाँले यो गठबन्धन चुनावपछिसम्म कायम रहने पनि बताउनुभयो । त्यसका लागि सबैको साझा अवधारणा बनाएर जाने विषयमा समेत गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै सत्ता गठबन्धनका चार दलबीच प्रतिनिधि सभामा दाबी गरेको सिट घटाउने सहमति पनि भएको छ ।
शुक्रबार बेलुका बसेको कार्यदलको बैठकमा आफ्नो दाबी छोड्न दलहरु तयार भएका हुन्।
बिहीबार बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी ९जसपा०ले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका थिए।
तर शुक्रवारको बैठकमा कार्यदलमा प्रस्तुत भएका ३० प्रतिशत भन्दा बढी दाबी घटाउन चारै दल सहमत भएका हुन् । त्यसका लागि पार्टीमा छलफल गर्ने उनीहरुको भनाइ थियो ।
शुक्रबारको बैठकमा प्रदेश सभाका ३ सय ३० क्षेत्रको पनि बाँडफाँटका विषयमा सल्लाह भएको छ।
बैठकमा संघ र प्रदेशको सिट बाँडफाँट सहमतिमै गर्ने सकारात्मक समझदारी भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
एक दुई दिनभित्रमा सुझाव संकलन गरी सिट बाँडफाँटबारे शीर्ष नेतालाई प्रतिवेदन दिने कार्यदलको तयारी छ।