काठमाडौं । अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरोले अनुसन्धान शुरु गरेको छ ।
फिल्म निर्माण कम्पनी ‘ब्लु बर्ड एचडी’ले फिल्मको छायांकन नर्वेमा गर्ने भन्दै केकी र अर्यानसहित १४ जनाका लागि भिसा माग गर्दै नर्वेको दूतावासमा आवेदन दिएका थिए । दूतावासले कागजातमाथि आशंका गर्दै नेपाल पर्यटन बोर्डलाई सम्पर्क गरेपछि कीर्ते कागजातबारे खुलासा भएको हो ।
नेपाली फिल्म ‘तिम्रो नजर’ युनिटले नक्कली कागजात र कीर्ते हस्ताक्षर गरेको पाइएपछि केकी र आर्यन प्रहरी निगरानीमा परेका हुन् ।
फिल्मको छायांकन नर्वेमा गर्ने भन्दै भारतस्थित दूतावासमा पेश गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको आशंकामा नर्वेजियन दूतावासले बोर्डसँग फोनमार्फत जानकारी लिएको थियो। तर, बोर्डले अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजात पेस गरेको खुलेको हो।
आफ्नो नाम र कागजात दुरुपयोग गरेको खबर सार्वजनिक भए लगत्तै केकी र आर्यनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।
उक्त फिल्ममा आफूहरुले काम गर्ने कुनै सम्झौता नगरेको भन्दै उनीहरु फिल्म निर्माण कम्पनी ‘ब्लु बर्ड एचडी’को विपक्षमा उत्रिएका हुन्।
आफ्नो नाम, कागजात र हस्ताक्षर दुरुपयोग भएको पाइए कानुनी उपचारमा जाने दुवैजनाको चेतावनी छ ।
घटनापछि फिल्मका निर्देशक रोशनकुमार पराजुली फरार रहेका छन् ।