काठमाडौं । भारतले अग्निपथ योजनाअन्तर्गत नेपालबाट तत्काल सैन्य भर्ती नगर्ने भएको छ।
नेपालको आग्रहपछि भारतले तत्कालका लागि नेपाली युवाहरुलाई अग्निपथअन्तर्गत सैन्य भर्ती स्थगन गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायण खड्कालाई बुधबार भेटेर नेपालको आग्रहपछि तत्कालका लागि अग्निपथअन्तर्गत सैन्य भर्ती स्थगन भएको जानकारी गराउनुभएको हो ।
यसअघि नेपालले भारतको नयाँ गोर्खा अग्निपथ योजना अनुसार नेपालबाट हुन लागेको सैन्य भर्ना अभियान रोक्न आग्रह गरेको थियो ।
झन्डै दुई महिनासम्म मौन रहेको सरकारले भर्ना अभियानको अघिल्लो दिन भारतीय राजदूत नविन श्रीवास्तावमार्फत उक्त आग्रह गरेको हो ।
विहीवार बुटवलबाट यो भर्ना अभियान सुरु गर्ने भारतीय पक्षको तयारी रहेको थियो । भारत सरकारले जुलाईमा सार्वजनिक गरेको अग्निपथ योजना अनुसारको सैन्य भर्ना अभियानमा नेपाललाई सहयोग गर्न पत्राचारसमेत गरिसकेको थियो । ३१ जेठमा पत्र पठाएर भारतले नेपालसँग सहयोग मागेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दल र राजनीतिक सहमतिपछि मात्रै जवाफ दिने भनेर भर्ना अभियान स्थगित गर्न आग्रह गर्नुभएको हो । बुधवार परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत श्रीवास्तवसँग छलफल गर्नुभएको थियो ।
भारतले गत जुलाईमा ल्याएको अग्निपथ योजना अनुसार ४ वर्षका लागि अग्निवीर भर्ना गर्नेछ । त्यसरी भर्ना भएकामध्ये २५ प्रतिशतले मात्र सैन्य सेवामा निरन्तरता पाउनेछन् । बाँकीले भने एकमुष्ट करिब ११ लाख भारुसहित अवकाश पाउनेछन् । यो वर्ष भारतले ६० हजार अग्निवीर भर्ना गर्ने योजना रहेको छ ।
हरेक वर्ष ४० देखि ६० हजार जनालाई अधिकृतभन्दा तल्लो तहमा भर्ना गर्ने योजना भारत सरकारको रहेको छ । ४ वर्षे सेवाबाट हट्ने उनीहरुले पेन्सन सुविधा पाउने छैनन् । यो भर्ना अभियानले सन् १९४७ को नेपाल, भारत र बेलायतबीच भएको त्रिदेशीय सैन्य सहमतिको उल्लंघन भएको बताइको छ ।
अग्निपथ योजनाबारे प्रधानमन्त्री देउवाले सरकारी अधिकारीहरूसँग छलफल गरिरहनुभएको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुण कुमार सुवेदीले भारतले बेलायत—भारत—नेपाल त्रिपक्षीय सन्धिअनुसार नै भारतले अबका दिनमा नेपालका युवालाई भर्ती गर्ने अपेक्षा लिइएको बताउनुभयो ।