काठमाडौं । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।
सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् ।
सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, घिउ, पनिर, फापरसहितका खाद्यान्न बिक्री गरिन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिनुभयो । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक दशैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले यसपालि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । यसका लागि छ करोड ४५ लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।