काठमाडौं । फोहोरको व्यवस्थापन गर्न नसकेको भन्दै सर्वत्र आलोचित काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगरभित्र बनेका अनिधिकृत संरचना हटाउने अभियानमा सक्रिय बनेका छन् ।
महानगरभित्रका सडकमा फुटपाथ अतिक्रमणका साथै पार्किङको समस्या बढिरहेको बेला मेयर साहले अनिधिकृत संरचना हटाउने अभियान शुरु गरेका हुन् ।
मेयर साहकै नेतृत्वमा काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काउन शुरु गरेको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान अन्तर्गत बुधवार काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा बनेका अनिधिकृत संरचना डोजर लगाइ हटाइएको छ ।
कामपाका प्रमुख साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौं मल पुगेको थियो।
मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन शुरु गरेका हुन् । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो।
कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरू गरेको बताए । ुडबल पार्किड स्पेसमा व्यवसाय सञ्चालन गरे पछि भत्काइएको हो,ु कामपा प्रहरी प्रमुख पाण्डेले बताए । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो। विहीवार पनि कोटेश्वर लगायत विभिन्न स्थानमा बनेका अनिधिकृत संरचना हटाइने भएको छ ।
मेयर साहको पछिल्लो अभियानको सर्वत्र प्रशंसा भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख साहले महानगरभित्र बनेका अनिधिकृत संरचना हटाउने अभियान थालेकामा प्रशंसा गरेका छन् ।
‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन शाहको प्रयास प्रशंसनीय छ’, अध्यक्ष थापाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ। यस कार्यमा सबैले सहयोग गरौं।’