मुगु । मुगु जिल्लामा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकी हुन् ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
उहाँकी धर्मपत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उनीहरु दुबै बुधबार ओली निवास बालकट पुगेका हुन् । अभिभाकत्व ग्रहणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले प्रधानमन्त्रीकी छोरीको सम्बोधन गर्ने गरेका थिए ।
दुवै जनाको पालन पोषण र पढाइ सबैको जिम्मा लिने प्रतिवद्धता ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताउनुभयो ।
ओलीले अभिभावकत्व ग्रहरण गरे पनि हालसम्म २ पटक मात्र १०/१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गर्नुभएको थियो । श्रीमानको मृत्यु भएको केही वर्ष भएको र पालन पोषणमा आफूलाई समस्या भएको उहाँले बताउनुभयो । ओलीले बोलाएपछि उनीहरु काठमाडौं आएका थिए ।
'निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुशी लागेको छ । प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुशी लागेको छ,' आमा छिजुले बताउनुभयो।