काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक बस्न लागेको हो ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन ।
शीर्ष तहबाट बाँडफाँटको मापदण्डमा सहमति जनाएपछि निर्वाचन क्षेत्रको बाँडफाँट हुने बताइएको छ ।आजको बैठकले सिट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैबीच सोमबार बसेको ०७४ मा जितेका आ–आफ्ना सिटमा लड्ने तथा अन्य दलले जितेकामध्ये कांग्रेसले ६० र अन्यले ४० प्रतिशत पाउने मापदण्ड बनाउनेबारे छलफल सुरु भएको स्रोतको भनाइ छ । तर यो प्रस्तावमा कांग्रेस नेताहरूले सहमति जनाइसकेका छैनन् । शीर्ष नेताहरूबीच सहमति नहुँदा कार्यदलले प्राविधिक काम टुंगाउन सकेको छैन ।
गठबन्धनमा रहेका दलहरूसँग ०७४ मा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छन् । गठबन्धनबाहिर एमालेका ६७, लोसपाका १०, नेसपाका दुई, नेमकिपा र राप्रपाका एकरएक तथा स्वतन्त्र एक गरी ८२ सिट छन् ।
यसको आधारमा गठबन्धन बाहिरका ८२ सिट बाँड्नुपर्ने हुन्छ । यसमा ६० प्रतिशत कांग्रेसलाई दिँदा ४९ र बाँकी चार दललाई ३३ सिट पर्छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ सिट छन् ।