काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोललाई अष्ट्रेलिया भ्रमणको निम्तो दिनुभएको छ ।
सोमवार महानगरपालिका कार्यालयमा भएको शिष्टाचार भेटमा राजदूत भोल्कले उपप्रमुख डंगोललाई २ हप्ते क्षमता विकास तालिमका लागि अष्ट्रेलियाको निमन्त्रणा दिनुभएको हो । अष्ट्रेलियामा आउँदो बर्ष निर्वाचन हुने भएकोले त्यसलाई असर नहुने गरी कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउदै राजदूत भोल्कले त्यसमा सहभागी हुन उपप्रमुख डंगोललाई निमन्त्रणा गर्नुभएको हो ।
भेटका बेला समावेशी शहर व्यवस्थापन सिकाइ अभ्यासका विषयमा कुराकानी भएको थियो ।
यस्तै भेटका क्रममा उपप्रमुख डंगोलले, काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहरी व्यवस्थापन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सम्बन्ध स्थापना भएका नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरिएको जानकारी दिँदै उहाँले अष्ट्रेलियाको नगरहरुको व्यवस्थापनका अभ्यास र काठमाडौँको सांस्कृतिक गरिमा आपसी आदान प्रदानका विषय बन्न सक्ने बताउनुभयो ।
विकास र सम्पदा संरक्षणसँगै महिला, दलित, आदिबासी, अल्पसंख्यक तथा जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उपप्रमुख डंगोलले, योजना र प्रक्रियाबाट लक्ष्यमा पुग्ने प्रयास गरिरहेको बताउनुभयो ।
भेटका क्रममा राजदूत भोल्कले काठमाडौँ महानगरले समावेशी चरित्रको सहर निर्माणका लागि लिएको नीति, अघि सारेका कार्यक्रम, महिला ससक्तिकरण र नीतिगत तहमा महिलाहरुको नेतृत्वलगायतका विषयमा जिज्ञासाा राख्नुभएको थियो । त्यस्तै भगिनी सम्बन्ध भएका सहरहरुसँग गरिने क्रियाकलापका विषयमा पनि राजदूतको जिज्ञासा थियो ।