काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भाद्र ७ गते मंगलवार नेपाल बन्द आह्वान गरेका छन् ।
नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पार्टीका नेता तथा कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न समेत नेकपासहित चार दलले माग गरेका छन् ।
विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले हस्ताक्षर गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'विगत लामो समयदेखि ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजीविका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका विरुद्धमा संयुक्त संघर्षको दौरानमा रहेको उल्लेख गर्दै यहि भदौ ७ गते नेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि आवश्यक सहगोग गरिदिन आग्रह गर्दछौं ।'