काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच सोमवार द्धिपक्षीय श्रम सम्झौता हुँदै छ ।
सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नुहुनेछ ।
हस्ताक्षर पछि नर्सहरू बेलायत पठाउने प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा पाइलट बेसमा केही संख्यामा नर्सहरू पठाइने छ । उनीहरूको सेवा सुविधालगायतका अवस्था हेरेर थप जनशक्ति पठाउने मन्त्रालयको तयारी छ ।
बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ ।
के के योग्यता चाहिन्छ ?
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायत जानका लागि दुई वर्ष नर्सिङ अनुभव हुनुपर्ने र आईएलटीएस गर्नुपर्ने जनाएको छ ।
बेलायतमा कार्यरत नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन यूकेले भने बेलायतले १० हजार स्टाफ नर्स माग गरेको जानकारी दिएको छ ।
नेपाल नर्सिङ परिषद्काअनुसार नेपालमा हालसम्म ६४५ जना स्पेसलिस्ट, ७२ हजार ५५० जना नर्स, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ जना एएनएम, तथा ८४७ जना फरेन नर्स दर्ता भएका छन् । यीमध्ये २५ प्रतिशत नर्स रोजगारीका लागि अस्ट्रेलिया तथा अरेबियन देशहरूमा जाने गरेको परिषद्को तथ्यांक छ ।