काठमाडौं । आफ्नै साथीको हत्यामा संलग्न तीनजना किशोरलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
बौद्ध प्रहरीले हत्या अभियोगमा भोजपुरका तीन युवकलाई पक्राउ गरेको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका–८, पातलेपानी घर भई हाल काठमाडौं–६, सानधारा महांकालमा फल्स सिलिङ मिस्त्रीको काम गर्ने अन्दाजी २६ वर्षका मनोज राईलाई कुटपिट गरी मारेको अभियोगमा प्रहरीले भोजपुर नै घरमा भएका तीन जनालाई नियन्त्रणमा लिएको हो।
हत्या अभियोगमा भोजपुरको हतुवागढी गाउँपालिका–९, हसनपुर घर भएका अन्दाजी वर्ष १९ का विमल राई, अन्दाजी १८ वर्षका जितेन राई र अन्दाजी १९ वर्षका सञ्जय राईलाई प्रहरीले शनिबार राति ११ बजे काठमाडौं–७, गौरीघाटबाट नियन्त्रणमा लिएको हो।
एकै ठेगानमा घर भएका उनीहरू काठमाडौंमा पनि एकै ठाउँ सानधारा महांकाल बस्थे।
प्रहरीका अनुसार शानिबार राति साढे ९ बजे उही ठेगाना घर र डेरा भएका अन्दाजी २७ वर्षीय सामेलुङ राईसमेत उल्लिखित व्यक्तिहरूले सँगै बसेर मादक पदार्थ पिएका थिए। त्यही क्रममा झगडा हुँदा कुटपिटबाट मनोज राई गम्भीर घाइते भएका थिए।
घाइते मनोजलाई चाबहिलस्थित हेल्पिङ हेल्प हस्पिटल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। त्यसपछि कुटपिटमा संलग्नहरूको खोजी गर्ने क्रममा तीन जनालाई प्रहरीले पक्रेको हो। ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ।