टोक्यो । साँझैमा ए गोरी आउन एक समयका बहुचर्चित गीत ईमेज च्यानलको हिटलिष्टमा कयौं हप्ता नम्वर एक रहन सफल रह्यो । यसगीतका गायक थिए समुन्द्र श्रेष्ठ । सांगीतिक यात्राका क्रममा उनले २०४९ सालतिर चारजना साथीहरु मिलेर ब्याण्ड स्थापना गरेका थिए जसको नाम थियो स्माप । ब्याण्डमा पवन ,अजर, निरज र समुन्द्र सदस्य थिए ।
समुन्द्रले संगीतको औपचारिक शिक्षा समेत लिएका छन् । उनले डोरेमी संगीत पाठशालामा गुरुदेव कामतबाट १८ महिना गायनको शिक्षा लिए । लगभग तीनवर्ष ब्याण्डमा रहँदा दर्जनौ सांगीतिक प्रस्तुति गरे पनि उनीहरुको आफ्नो गीत भने थिएन । २०५२ सालतिर ब्याण्डमा साथीहरु हेरफेरमात्र भएन ब्याण्डको नाम समेत परिवर्तन भयो । स्मापबाट ब्याण्डको नाम फेरेर उनीहरले स्प्रिट ब्याण्ड नामाकरण गरे । स्प्रिट ब्याण्डमा अजर र निरजको ठाउँमा बिजुर रोबिन जोडिए । नयाँ ब्याण्डसँगै उनीहरले आफ्नै पहिलो गीत रेकर्ड गरे “तिम्रो नजर नशालु । यस गीतलाई श्रोताहरुले मन पराए । त्यसबेला एफएमहरु समेत यो गीत खुब बज्यो । पहिलो गीतको सफलतापछि उनीहरु एल्बम नै निकाल्न हौसिए । त्यसको केही समयपछि उनीहरुले सोनिया नामको पहिलो एल्बम निकाले । एल्वमका गीतहरु चले तर एल्वम भने चलेन । एल्बममा समावेश गीत ओ माई स्विटहार्टको म्युजिक भिडियो वनाउन निर्देशक आलोक नेवाङ्गसँग छलफल हुदा उनले ए गोरी आउन बोलको गीतको भिडियो बनाउन सल्लाह दिए । नेम्वाङकै सल्लाहमा गीतको भिडियो निर्माण गरिएको समुन्द्र बताउछन् । यो । ईमेज च्यानलमा उक्त गीतको भिडियो प्रसारण हुन थालेपछि रातारात लोकप्रियताको शिखरमा पुग्यो स्प्रिट ब्याण्ड । उनीहरुले उक्त गीतका लागि बिभिन्न अवार्ड र सम्मान समेत पाए ।
गीत चलेपछि ब्याण्डका सदस्यहरुले निरन्तरता दिन सकेनन् । जिबिकोपार्जनका लागि सबैजना आ–आफ्नो काममा लागेपछि तितरवितर भए । समुन्द्र पनि आफ्नै काममा लागे । तर उनको नशा नशामा संगीत बसेको थियो । त्यसैले उनले संगीतलाई कहिले पनि बिर्सन सकेनन् । गितारको साथमा आफ्नै शब्दमा कयौ गीतहरु तयार पारेर राखे । ती गीतहरु उनले साथीभाइसँगको भेटघाट र केही स्टेजहरुमा गाए पनि रेकर्ड भने गराएनन् । यसैगरी दुई दशक वितेको उनले पत्तै पाएन ।
यसबीचमा कोरोनाले गर्दा धेरै नेपाली फुर्सादिला भए लकडाउनको समयमा । गायक दीपक ब्रजचार्यले एपीवान टेलिभिजनमा ह्यासट्याग टिएमएमएस नामक सांगीतिक कार्यक्रमको एउटा सेगमेन्टमा २२–२३ बर्षपहिलेको गीत साँझैमा ए गोरी आउन गीतसहित समुन्द्रका केही सम्झना र भनाइहरु राख्ने अवसर दिए । त्यतिबेला समुन्द्रलाई बल्ल थाहा भयो कि नयाँ पुस्ताले समेत उनी र उनका गीतलाई अझै सम्झदा रहेछन् भन्ने । श्रोता दर्शकको आफूप्रतिको त्यो माया देखेर पुलकित भए उनी । अनि त्यहीबेला उनले नयाँ गीत लिएर आउने कमिटमेन्ट गरे ।
त्यही वचन पूरा गर्दै २०७८ फागुण २४ गते नारीदिवसको अवसरमा नयाँ गीत ऐय्या हो रिलिज गर्ने तयारीमा छन् –समुन्द्र । उनले गीतको म्यूजिक भिडियो समेत तयार पारिसकेका छन् । जोहिम शाह र स्विन्जा सिन्जोरको अभिनय रहेको नयाँ म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज हुने उनले सरलरेखालाई बताए ।
कल्पवृक्ष स्टुडियोबाट निर्मित भिडियोको निर्देशन सुदिप सिंहले गरेका छन् । गीतमा स्वर, शब्द र संगीत समुन्द्रको आफ्नै छ ।