काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
विभिन्न चरणमा दुई नेताबीच भएका छलफलपछि मिलेर जाने सहमति भएको हो । यद्यपी पार्टी एकताको औपचारिक घोषणा भने चुनावपछि गर्ने सहमति भएको छ ।
चुनावको मुखमा पार्टीको नाम परिवर्तन गर्दा गतिलो सन्देश नजाने सुझाव आएपछि दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ । यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।
सहमतिअनुसार सम्भवतः सोमबार दुवै दल संयुक्तरूपमा निर्वाचन आयोग पुग्नेछन् । आयोगले दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दल एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । तर, त्यसको सुचना भने दल दर्ता गर्ने बेलामै आयोगलाई गराउनुपर्नेछ । सोहीअनुसार दुई दलले संयुक्त रूपमा आयोग पुगेर एकल चुनाव चिन्ह लिई चुनावमा भाग लिन लागेको निवेदन पेश गर्नेछन् । साझा चुनाव चिन्ह हँसिया–हथौडा हुने बताइएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ ।
सहमतिअनुसार भट्टराईले गोरखा २ बाट चुनाव लड्नुहुनेछ ।
यस्तै, नेकपा समाजवादीका अर्का अध्यक्ष महिन्द्रराय यादवले सर्लाही क्षेत्र नम्बर २ तथा सांसद राजकिशोर यादवले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
चुनावपछि एकीकृत पार्टीको नाम के राख्ने भन्नेबारेमा पनि बहस चलिरहेको नेताहरूले जनाएका छन् । ‘नेकपा समाजवादी केन्द्र’ मा सहमति जुटाउन प्रयास भइरहेको स्रोतको भनाइ छ । केन्द्रमा अन्य दललाई पनि समेट्नेबारेमा छलफल हुने बताइएको छ ।
२०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो । ६ वर्षपछि दाहाल र भट्टराई फेरि एकै ठाउँमा आउन लाग्नुभएको हो ।