काठमाडौं । नेपाली हिन्दू समाजमा जनैको विशेष महत्त्व छ।
रक्षाबन्धन (डोरो बाँध्ने) र यज्ञोपवीत धारण (जनै लगाउना)ले नकारात्मक तत्वबाट सुरक्षा मिल्ने धार्मिक विश्वास छ। समाजमा जनैपूर्णिमाको दिन विधिपूर्वक बनाएर वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने संस्कृति चलिआएको छ।
यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै एवं डोरो धारण गरिन्छ। जनै पूजा, पितृकार्यमा समेत अत्यावश्यक कुरा हो। डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाको अवसरमा प्रायः सबैले यसको ग्रहण गर्ने चलन छ।
पूर्णिमाका दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्रका रुपमा डोरो बाँध्ने गर्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गर्ने प्रचलन छ। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वले छुन नसक्ने विश्वास गरिन्छ।
तर पछिल्लो समय जनैमा समेत परनिर्भरता बढ्दै गएको छ ।
संस्कृतमा यज्ञोपवीत र नेपालीमा जनै भनिने यो ‘पवित्र धागो’ विदेशबाट नै आयात हुन्छ। तर यो धागोको रुपमा आयात हुने गरेको छ।
जनै बनाउन मुख्यतया मसिनो कटनको धागो आवश्यक पर्छ। यो धागो कपडा निर्माणमा समेत प्रयोग हुन्छ। नेपालमा जनैको लागि भनेरै पनि धागो आयात हुने गरेको छ। त्यस प्रकारको धागो नेपालमा मुख्यतः चीन र भारतबाट आयात हुन्छ। यो धागो हङकङ र स्पेनबाट समेत नगन्य रुपमा आयात भएको देखिन्छ। गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साढे ७८ मेट्रिक टनबराबरको जनै अर्थात् जनै बनाउन मिल्ने धागो आयात भएको देखिन्छ। जुन १७ करोड ५८ लाख मूल्यबराबरको हो।
त्यसबाट नेपाल सरकारले २४ लाख रुपैयाँ राजस्व उठाएकोे भन्सार विभागले जनाएको छ।
नेपालमा पनि धागोहरु तयार हुन्छन् तर आयातको मात्रा धेरै रहेको छ।
तथ्याङ्क र सरकारी निकायको भनाइलाई आधार मान्ने हो भने नेपालमा पनि जनैको धागो निर्माण हुन्छ । तर धेरै मात्रामा भने चीन र भारतबाट आयात हुने गरेको स्पष्ट हुन्छ।