काठमाडौं । बर्षायाम लागेसँगै डेंगु रोगका संक्रमित बढेका छन् ।
गएको एक महिना अवधिमा मात्र झण्डै ४ सय डेंगुका केस भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएको एक महिनामै थप ४ सय केस थपिएको छ । यसअघि गएको पुस महिनादेखि अर्थात् सात महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण गौतमले सोही अवधिमा ६० जिल्लामा डेंगुका केस भेटिएको बताउनुभयो ।
उहाँका अनुसार राजधानीका तीन जिल्लामध्ये ललितपुरमा १३७, काठमाडौँमा ४७ वटा केस देखिएको छ ।
ललितपुर जिल्लामा पहिलो केस असार ९ गते देखिएको थियो । महालक्ष्मीस्थान, थसिखेल, खुमलटारका विभिन्न स्थानमा गरी १३७ जनामा डेंगु देखिएको हो ।
अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो । अहिले भने सात महिनाको अवधिमा झण्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ ।
डा गौतमका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामी सङ्ख्या अझै बढ्नसक्ने बताउनुभयो ।
बाग्मती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंंगुका बिरामी देखिएका छन् ।
०७६ मा डेंगुले प्रकोपको रुप लिंदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो भने १६ हजार जना अस्पताल भर्ना भएका थिए ।
डेंगु एडिस एजिप्टाई प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । डा गौतमका अनुसार यो लामखुट्टेले एकै ठाउँमा अण्डा नपारेर भिन्दाभिन्दै स्थानमा पार्छ । एक ठाउँमा पारेका अण्डा लार्भा बन्न असफल भए पनि अन्य ठाउँका अण्डा बच्न सक्छ । त्यसैले यो चलाख हुन्छ ।
डेंगु भएको मानिसलाई टोकेको लामखुट्टेले अरुलाई टोक्दा डेंगु हुन्छ । यतिमात्रै होइन डेंगु भएका लामखुट्टेबाट जन्मिने छोराछोरी, नाति नातिनी अर्थात् अन्य पुस्तामा समेत डेंगु भाइरस हुने डा गौतमले बताउनुभयो । यस्तै, डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसो मान्छेको रगत मन पराउने पराउने भएकाले उज्यालोमा बढी टोक्ने गर्छ । जबकि अन्य लामखुट्टेले अँध्यारोमा टोक्ने गर्छन ।
सहरी तथा घना बस्तीमा डेंगु एडिस प्रजातिका लामखुट्टे बस्ने गर्छन् । यी लामखुट्टे सफा पानीमा बस्न रुचाउँछन् । जस्तै, सहरका कर्पोरेट हाउस, ठूला होटलमा राखिने फुलदानीमा डेंगु हुने लामखुट्टे हुन्छन् । नुहाउन, प्रयोगका लागि जम्मा गरेर राखिएको पानीमा यो लामखुट्टे बस्ने गर्छ । त्यसैले भाँडामा राखिएका सफा पानी परिवर्तन गरिरहनुपर्छ ।