काठमाडौं । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माको पुनर्वहालीको सन्दर्भमा चोटिलो व्यंग्य प्रस्तुत गर्नुभएको छ ।
शुन्य समयमा बोल्दै एमाले सांसद बस्नेतले व्यंग्यात्मक टिप्पणी गर्दै प्रधानमन्त्री,गठबन्धन र कर्मचारीसम्मको सेटिङमा अर्थमन्त्रालयको सीसीटिभी फुटेज गायब पारिएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री पत्नी आरजु देउवा समेतको प्रभावमा गैर व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरिएको आरोप लगाउनुभएको छ । छानविन समितिले पनि दबाबमा कर्मकाण्डी प्रतिवेदन बुझाएको उहाँको भनाइ छ ।
प्रस्तुत छ सांसद बस्नेतको सम्बोधन जस्ताको तस्तै :
सम्मानीय सभामुखज्यू,
प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई धन्यवाद । गृहमन्त्रीजीलाई पनि धन्यवाद । पार्टी अध्यक्ष तथा सुप्रिमो प्रचण्ड,माधव नेपाल, उपेन्द्र र दुर्गाज्यूलाई पनि धन्यवाद । छानविन समितिलाई पनि धन्यवाद । मेटाएको सीसीटिभी फुटेज नदेखाएकोमा म लगायत सबै कर्मचारीहरुलाई धन्यवाद । कल डिटेल नहेरेकोमा, अन्तरवार्ता नलिएकोमा एमालेको फरक मतलाई वेवास्ता गरेकोमा,सत्ताको आडमा बहुमत पुर्याइ सफाइ दिएकोमा, पुनः मन्त्रीमा पुनर्वहाली गराइदिएकोमा ।
अर्थको सेटिङ गराउनेछु, प्रधानमन्त्री भाउजुको आदेश मान्नेछु, सुप्रिमोज्यू डेटिङभित्रै निश्चित सेटिङ डेटिङ मिलाउनेछु, सहयोग नगर्ने कर्मचारी हटाउनेछु, कमिसन नखुवाउने उद्योगीहरुलाई कारवाही गर्नेछु, चुनावी खर्च जुटाउनेछु, गठबन्धन जुटाउन,एमालेलाई हराउन लाग्नेछ ।
अर्थका नामका अनर्थ मन्त्री धनार्जन शर्मा