काठमाडौं । नेपालमा असार १ गतेबाट कोरोना सङ्क्रमणदर पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमणदर बढेसँगै पछिल्लो १० दिनमा ७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
साउन १ गते एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । त्यसयता अर्थात साउन एक गतेदेखि साउन १० गतेसम्म ७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म ११ हजार ९५९ जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा ५० वर्ष देखि ८० वर्ष उमेरका छन् । मृत्यु भएका मध्ये ६ जनाले कोरोना विरुद्धको खोप नलगाएको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताउनुभयो । तर एकजना मृतकले भने कोरोनाविरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा कुनै पनि स्वास्थ्य समस्या नभएको पनि उहाँले बताउनुभयो ।
नेपालमा सङ्क्रमितको मृत्युदर १.२ प्रतिशत छ । मृत्यु हुनेमा उमेरअनुसार नौ वर्ष उमेर समूहका ५१, १० देखि १९ वर्ष उमेरका ५७, २० वर्षदेखि २९ वर्ष उमेरका ३८० जना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
त्यसैगरी, ३० वर्ष देखि ३९ वर्ष उमेरका ९६५, ४० देखि ४९ उमेर समूहका १६ सय ६४, ५० देखि ५९ उमेरका २३ सय, ६० देखि ६९ उमेरका २ हजार ५०५ जना छन् । र, ७० देखि ६९ उमेरका २३ सय ८९, ८० वर्ष माथिका १६ सय ३८ र अज्ञात १३ जना छन् ।
कोरोना सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा नेपालमा ११ लाख २६ हजार ३२० जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये नौ लाख ६८ हजार ८०२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमित निको हुने दर ९८.४ प्रतिशत छ । नेपालमा फैलिएको सङ्क्रमण आमिक्रोनको उपप्रजाति बिए वान र बिए फाइभ छन् ।
विभिन्न अध्ययनले बिए फाइभ भेरिएन्ट ओमिक्रोनका अन्य प्रजातिभन्दा बढी सङ्क्रामक रहेकाले स्वास्थ्य मापदण्डा अपनाउन, भिडभाडमा नजान र माक्सको प्रयोग गर्न विज्ञले आग्रह गरेका छन् ।
कोरोना विरुद्धको खोपले सङ्क्रमण भए पनि जटिल समस्या र मृत्युदर कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । सरकारले निशुल्क खोप वितरण गरेको हुँदा नजिकको खोप केन्द्रमा गएर खोप लगाउन चिकित्सकको आग्रह छ ।