काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाएपछि आज नतिजा प्रकाशन गर्न लागेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था लागू गरेको छ ।
गत २०७८ पुस ७ गते शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका जारी गरेको थियो । सो निर्देशिकामा ९० र सोभन्दा माथि ल्याउनेलाई सर्वोत्तम (एप्लस), ८० र सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई अत्युत्तम (ए), ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई उत्कृष्ट (बीप्लस), ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई उत्तम (बी), ५० र सोभन्दा माथि ६० भन्दा कम ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ४० र सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई ग्राह्य (सी), ३५ र सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई आधारभूत (डी) र ३५ भन्दा कम ल्याउनेलाई अवर्गीकृत (एनजी) ग्रेड निर्धारण गर्ने व्यवस्था गरिएको थियो ।
तर स्रोतका अनुसार मङ्गलबार बसेको बोर्ड बैठकले ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को दोस्रो लहरका कारण समयमा पठनपाठन सुरु नभएको र कोर्स पूरा हुन पनि कठिन भएको थियो । यसले गर्दा २०७८ सालका एसईईका परीक्षार्थीको नतिजा त्यति उत्साहजनक नरहेको देखिएपछि नयाँ व्यवस्था लागू नगर्ने निर्णय बोर्ड बैठकले गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विश्वस्त सूत्रले जानकारी दिएका छन् । त्यसैले यसपटक पुरानै विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको उनको भनाइ छ । उनका अनुसार सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकमा न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने पद्धति पनि रहने छैन ।