काठमाडौँ । कुलेखानी जलाशयको सतह घटेको छ ।
कुलेखानी आसपासमा अहिलेसम्म झरी नपरेका कारण विद्युत् उत्पादन गर्ने जलाशयको सतह घटेको हो
सोमवार अपरान्हसम्म कुलेखानी जलाशयको सतह घटेर १४९९ मिटरमा पुगेको विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईले बताउनुभयो । गत वर्षको साउन ९ गते कुलेखानीको सतह १५२० मिटर थियो ।
गत वर्ष असार १ गतेको बाढीले एकैदिनमा १०, १२ मिटर सतह बढेको भट्टराईले बताउनुभयो ।
कुलेखानीको जलाशय लम्बाई सात किलोमिटरको छ । समुद्र सतहदेखि १४८० मिटर यसको पिंध हो भने यो जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी संग्रहित हुने गर्छ । कुलेखानी जलाशयमा कूल ८ करोड ५३ लाख घनमिटर पानी जम्मा हुन्छ । यसमध्ये यसको सक्रिय क्षमता ७ करोड ३० लाख घनमिटर हो । कुलेखानी जलाशयमा एक करोड २९ लाख घनमिटर पानी भने कहिले प्रयोग नहुने उहाँले बताउनुभयो । यो जलाशयको सतह क्षेत्र २.२ वर्ग किलोमिटर छ ।
भट्टराईका अनुसार विद्युत प्रणालीलाई आवश्यक परेको बेला मात्र कुलेखानी सञ्चालनमा ल्याउने गरिन्छ । भोल्टेजको स्थिरता र प्रणालीको आवश्यकता अनुसार कुलेखानीका तीनवटा विद्युतगृहबाट विद्युत् उत्पादन हुने गर्छ ।
नेपालको एकमात्र जलाशययुक्त विद्युत् नै कुलेखानी हो । यसको निर्माण कार्य सन १९७७ मा सुरु भई पहिलो युनिटबाट बिजुली उत्पादन भने सन् १९८५ को मे १४ तारिखमा भएको थियो ।
कुलेखानी पहिलो (जलाशयसमेत) को कूल लागत त्यतिखेरको मूल्यमा ११ करोड ७८ लाख ४३ हजार अमेरिकी डलर थियो । यो आयोजनालाई विश्व बैंक, कुवेत फण्ड, ओपेक फण्ड, जापानको ओभरसिज इकोनोमिक कोअपरेशनले आर्थिक सहयोग गरेका थिए ।
निर्माणपछि विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्दा कुलेखानी पहिलोको लागत एक अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
कुलेखानी जलविद्युत् मकवानपुर जिल्लाको धोर्सिङमा पर्छ । काठमाडौंदेखि सरोवरसम्मको दूरी २१ किलोमिटर छ । वर्षाको पानी संकलन गरेर हिउँदमा बिजुली उत्पादन गर्ने उद्देश्यले यो आयोजना बनाइएको हो ।