काठमाडौं । चार वर्षपछि ठूलो पर्दामा कमब्याक गरिरहँदा रणवीर कपुरका फ्यानहरु जति खुशी भएका थिए, शमशेरा हेरिसकेपछि उनीहरुको त्यो खुशी निराशामा परिणत हुन्छ । किनभने शमशेरा रणवीरको करियरकै सबैभन्दा खराब फिल्म रहेकोमा कुनै शंकै छैन ।
एउटा समय अवधि र कालखण्डमा आधारित फिल्महरुमा शमशेरा एक डरलाग्दो फिल्मको रुपमा रहेको समीक्षकहरुको आरोप छ । फिल्मको मुटु भनेकै स्क्रिप्ट र प्लट हो । तर शमशेरा प्लट हराएको फिल्ममा पर्छ । समीक्षकहरु भन्छन्–शमशेरा, सबै कार्य र विवरणमा ध्यान नदिएको बकवास फिल्म हो ।
प्रसिद्ध फिल्मी घराना यशराज फिल्म्सको ब्यानरमा निर्मित, शमशेरा असाध्यै नराम्रो एक्शन फिल्म हो, जसले हेर्ने दर्शकहरूलाई धेरै यातना दिन्छ । फिल्मभित्र खलनायकले राजपुतन समुदायलाई दास बनाएर जसरी क्रूरतापूर्ण व्यवहार गर्छन्, त्यस्तै व्यवहार यशराज फिल्मसले यो फिल्म बनाएर दर्शकहरुलाई गर्न खोजेका छन् ।
दर्शकको दुई घण्टाको समय बेतुकमा बित्छ । यस्तै मष्तिस्कविहीन क्लाइम्याक्सले दर्शकहरुको मष्तिस्क दुखाउँछ र दर्शकलाई भर्खरै के हेरें भन्ने नै विर्सन बाध्य बनाउँछ ।
एकता पाठक मल्होत्रासँगको सहकार्यमा फिल्मका निर्देशक करण मल्होत्राले लेखेको पटकथामा घिसिपिटी, जबर्जस्ती र क्लिसेवाहेक अरु केही छैन । फिल्ममा १९औँ शताब्दीको उत्तरार्धको सेट लगाइएको छ । तर नायिकालाई नयाँ सहस्राब्दीका कपडाहरूमा ढाक्ने अनुमति दिइएको छ । यति नै काफी छ फिल्म शमशेराप्रति दर्शकको आशा र विश्वासलाई धूलो र खरानी बनाउन।
१५८ मिनेटको फिल्मको प्रारम्भ भ्वाइसओभरबाट हुन्छ । भ्वाइसओभरसँगै फिल्म कुनै एक कालखण्ड र ऐतिहासिक सन्दर्भको हो भन्ने थाहा हुन्छ । त्यहाँ मूख्य पात्र देखापर्छ शमशेरा । ऊ आफ्नो जातिको स्वाभिमानको खातिर संघर्षरत युवा हो । आफ्नो जातिलाई अन्धकारबाट बाहिर लैजान ऊ कटिबद्ध छ।
तर जसरी कथा अगाडि बढ्दै जान्छ, फिल्मको जातीय विरोधी अडान हावामा उड्दै जान्छ । फिल्म एउटा पक्षले पीडा दिने र अर्कोले बदला खोज्ने झगडामा सीमित हुँदै जान्छ । फिल्मको प्रस्तुति र प्लटको आधारमा भन्नुपर्दा शमशेरा ठग्स अफ हिन्दोस्तानस्तरको खराब फिल्म हो ।
शमशेराले एउटा कुरा के प्रमाणित गरेको छ भने इतिहासलाई सबैले इमान्दरितापूर्वक पर्दामा उतार्न सक्दैनन् ।
फिल्मको मुख्य भूमिकामा छन् अभिनेता रणबीर कपुर । सन् २०१८ को सन्जु पछि उनी पहिलो पटक ठूलो पर्दामा देखा परेका हुन् । फिल्ममा उनले बाबु र छोरा दुवैको भूमिका निभाएका छन् । उत्पीडित जनजातिलाई ब्रिटिस साम्राज्यको दासत्वबाट मुक्ति दिलाउन लड्ने योद्धा हुन् दुवै पात्र ।
फिल्मको मूख्य खलनाय हुन् सञ्जय दत्त । तर उनी अग्निपथ र केजीएफ चरित्रको क्यारिकेचरमा फसेका छन् । मुर्ख,दम्भी र हँसाउने भूमिका भए पनि यी सबै दर्शाउन उनी असफल भएका छन् । कमजोर स्क्रिप्ट र अपरिपक्का निर्देशनको दलदलमा उनको स्टारडम फसेको छ ।
शमशेराले भारतीय इतिहासलाई नै दिग्भ्रमित बनाउने काम गर्दछ । फिल्ममा हिन्दीभाषी खलनायक भन्दा अँग्रेजी खलनायक कम खतरनाक र दुष्ट देखाइएको छ । यो आफैंमा विरोधाभासपूर्ण छ ।
फिल्ममा प्रशस्तै भिजुअल इफेक्टहरू छन् । तर त्यसले उल्टै दर्शकहरुका आँखा भिजाउछन् । फिल्ममा देखाइएको किल्लाका धेरै स्थानमा कार्डबोर्ड प्रयोग भएको सजिलै देखिन्छ । अनि दोस्रो हाफमा देखाइने रेलको दृश्यमा अपरिपक्का भिजुअल इफेक्ट उदांगो हुन्छ ।
फिल्ममा १९ औं शताब्दीमा देशको दुर्गम भागमा छाप्ने प्रेस छ जसले दैनिक दर्पण नामक दैनिक हिन्दी अखबार निकाल्छ । अर्को कुरा नायकको बाल्यकाल जेलभित्रै बित्छ । त्यहाँ उनले पढ्न पाएको कतै देखाइएको छैन । तर लक्का जवान भएर जेलबाट बाहिर आउने वित्तिकै उसले देवनागरीमा मज्जाले चिठीपत्र लेख्न र पढ्न सक्छन् । योभन्दा हाँस्यस्पद प्लट अरु चाहियो ?
रणबीर कपूर प्रतिभाशाली अभिनेता हुन् । उनका यसअघिका फिल्महरुले उनको अभिनय क्षमता पुष्टि भइसकेको छ । तर शमशेरामा भने उनले स्क्रिप्ट नहेरेर ब्यानरकै लागि मात्र काम गर्न राजि भएको अनुमान लगाउन सकिन्छ । तर उनले आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न हरसम्भव प्रयत्न भने गरेका छन् ।