काठमाडौँ । युद्धरत रुस र युक्रेनबीच खाद्यान्न निर्यातका विषयमा सम्झौता भएको छ।
शुक्रबार राति भएको यो सम्झौतापछि अब युक्रेनले सामुद्रिक मार्ग हुँदै खाद्यान्न निर्यात गर्न पाउनेछ। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतामा दुई देशले हस्ताक्षर गर्दा टर्कीको पनि उपस्थिति थियो ।
फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्धका कारण ब्लाक सीमा रहेका युक्रेनी बन्दरगाह ठप्प रहँदै आएका थिए। अब रुस, युक्रेन र टर्की यी बन्दरगाहबाट खाद्यान्न निर्यातका लागि वातावरण तयार पार्न सहमत भएका छन्।
टर्कीको इस्तानबुलमा भएको सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, टर्कीका राष्ट्रपति रेसेप तायिप्प एर्डोगन, रुसी रक्षामन्त्री सर्जी शोइगु र युक्रेनका पूर्वाधार मन्त्री अलेक्जेन्डर कुब्राकोभ उपस्थित थिए। तर सम्मेलनमा शोइगु र कुब्राकोभ एकै समयमा सँगै रहेनन्। उनीहरूले छुट्टाछुट्टै समयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
यो सम्झौतापछि युक्रेनले १० अर्ब अमेरिकी डलर बराबरको खाद्यान्न निर्यात गर्नसक्ने त्यहाँका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताएका छन्। सम्झौता १२० दिनका लागि लागू हुनेछ। र, सम्झौताको अवधि सकिने वित्तिकै यो आफैँ नवीकरण हुने सम्भावना रहेको बताइएको छ। नवीकरणका लागि दुई पक्षको सहमति आवश्यकता रहनेछ।
यो सम्झौताका लागि करिब दुई महिना छलफल चलेको थियो। अब यसलाई पालना गराउन इस्तानबुलमा एउटा केन्द्र स्थापना गरिनेछ। जसले संयोजनकारी भूमिका निर्वाह गर्नेछ। केन्द्रमा संयुक्त राष्ट्रसंघ, टर्की, रुस र युक्रेनका प्रतिनिधि रहनेछन्।
युक्रेनका ओडेसा, चेर्नोमोर्स्क र युझ्नीमा रहेका बन्दरगाहबाट खाद्यान्न निर्यात हुनेछ। ती बन्दरगाहमा आउजाउ गर्ने कुनै पनि पानीजहाजमाथि आक्रमण नगर्ने कुरामा रुस सहमत छ। ती जहाजलाई युक्रेनी जलसेनाले सुरक्षा प्रदान गर्नेछन्। जहाज सहज ढंगले आउजाउ गर्न सकिरहेका छन् कि छैनन् भनेर टर्कीले परिवेक्षण गर्नेछ।
युद्धका कारण युक्रेनी बन्दरगाह स्वतः बन्द हुँदा युक्रेनबाट हुने निर्यात लगभग ठप्प भएको थियो। उता रुसमाथि युरोप, अमेरिका र यी दुईसँग मित्र रहेका अरु देशले आर्थिक प्रतिबन्ध लगाएकाले रुसी खाद्यान्न निर्यातमा पनि कमी आएको थियो। विश्व खाद्यान्न बजारका लागि दुई प्रमुख निर्यातकर्ता देशबाट हुने निर्यातमा अवरोध सिर्जना भएपछि सबैतिर खाद्यान्नको मूल्य बढ्नुका साथै अभावसमेत सुरु भएको थियो।
यो सम्झौता अनुसार युक्रेनबाट खाद्यान्न निर्यात केही दिनमै सुरु हुने बताइएको छ। यसबाहेक ब्लाक सीमा रहेका बन्दरगाहबाट रुसी खाद्यान्न र रासायनिक मल निर्यात गर्न पनि पहल गरिने बताइएको छ।