काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि अहिले छलफल भइरहेको छ ।
आजको बैठक शुरु भए लगत्तै सभामुख अगीप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । सभामुखको अनुमतिपछि गृहमन्त्री खाँणले सदनमा पेश गर्नुभएको सो विधेयक आजै अनुमोदनका लागि पेश गर्ने कार्यसूची रहेको छ । नागरिकता संशोधन विधेयकलाई राज्य व्यवस्था समितिमा छलफलका लागि नपठाई पारित गराउने सरकारले तयारी गरेको हो ।
अघिल्लो सरकारले ल्याएको नागरिकता संशोधन विधेयक साढे तीन वर्षसम्म संसदमा विचाराधीन रहेपछि गत महिना सरकारले फिर्ता लिएर नयाँ विधेयक पेश गरेको हो । बैठकमा विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् । उनीहरूले सो विधेयकमाथि संशोधन प्रस्ताव पनि बैठकमा पेश गरेका छन् ।
यसैबीच राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा वंशजको नागरिकता प्रदान गरेमा नेपालीहरु अल्पमतमा पर्ने बताउनुभएको छ ।
आज सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्दै उहाँले नेपालको भूराजनीतिक अवस्थितिको कारण पनि यस्तो गर्न नसकिने बताउनुभयो । उहाँले भूराजनीतिक अवस्थितिको कारण आमा र बुबा दुवै वंशज नागरिकता भएको व्यक्तिबाट जन्मेकी सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्ने धारणा राख्न्ुभयो ।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्ने बताउनुभएको छ ।
खुला सीमा हुन्जेल छिमेकीसँग सम्बन्ध राम्रो नहुने भन्दै त्यसलाई तारबार लगाउनुपर्ने उहाँले बताउनुभयो । नागरिकता विधेयक सार्वभौतिकतासँग जोडिएको हुँदा त्यसलाई जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्ने उहाँले बताउनुभयो ।००००