काठमाडौँ । गृह मन्त्रालयले आगामी निर्वाचनमा कुन दलले कति सिट ल्याउँछन् भन्नेबारे तीन वटा रिपोर्ट तयार पारेको छ।
रिपोर्टमा एमाले–माओवादी गठबन्धन भए पहिलो हुने गृहले प्रक्षेपण गरेको छ । तर अर्को रिपोर्टमा भने सरकारको नेतृत्व गरिरहेको कांग्रेस पहिलो हुने भनिएको छ ।
कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संयन्त्रको सहयोगमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ कुन दलको हैसियत के भन्ने रिपोर्ट निकाल्नुभएको हो । गृहको रिपोर्ट वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनलाई आधार मानेर गरिएको भनिएको छ।
उक्त रिपोर्टबारे गृहमन्त्री खाणले कांग्रेसको हालै सम्पन्न केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्नुभएको थियो ।
गृहको अध्ययनअनुसार खाणले प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले एक्लै लड्दा कति सिट आउने, एमाले–माओवादी गठबन्धन हुँदा कति आउने र अहिलेकै गठबन्धन कायम रहे कति सिट आउने अनुमानित रिपोर्ट पेस गर्नुभएको थियो ।
खाणले कांग्रेसले एक्लै चुनाव लडेमा एक रिपोर्टमा ७७ र दोस्रोमा ७९ सिट ल्याई पहिलो हुने रिपोर्ट पेस गर्नुभएको थियो । त्यस्तै एमाले दोस्रो हुने अनि उसले ७० र ६६ सिट ल्याउने अनुमान गरिएको छ।
उक्त रिपोर्टअनुसार गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सिट संख्या बढाएको माओवादी केन्द्रले भने एक्लै लडे ८ सिटमात्रै ल्याउनेछ। एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका माधवक्मार नेपालको पार्टीले १ सिटमात्रै ल्याउने गृहमन्त्री खाँणको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा जसपाले ४ र लोसपाले २ सिट जित्ने भनिएको छ।
गृहले यसपटक राप्रपाले भने एक सिट पनि नजित्ने रिपोर्ट तयार पारेको छ। तर राप्रपा ६ ठाउँमा दोस्रो हुने अनुमान गृहको छ।
गृह मन्त्रालयले नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनाव लड्दा १०९ सिट गठबन्धनले जित्ने प्रक्षेपण गरेको छ। त्यस्तै प्रदेशसभामा यो गठबन्धनले २१९ सिट जित्ने अनुमान छ।
कांग्रेस–माओवादीको गठबन्धनविरुद्ध एमाले–एकीकृत समाजवादी–राप्रपा मिले प्रतिनिधिसभाको ५६ र प्रदेशसभाको १११ सिट जित्ने रिपोर्टमा उल्लेख छ।
तर एमाले–माओवादीको गठबन्धन भइहाले कांग्रेसको जम्मा २० सिट मात्र आउने गृहको अनुमान छ। एमाले–माओवादीको गठबन्धनको १४५ सिट प्रतिनिधिसभामा जित्ने र प्रदेशमा २६८ सिट जित्ने भनिएको छ। एमाले(माओवादीको गठबन्धन हुँदा कांग्रेसले प्रदेशमा जम्मा ६२ सिट जित्ने अनुमान छ।
यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले २३ सिटमात्रै जिते थियो भने एमाले–माओवादीको गठबन्धन गर्दा एमालेको ८१ र माओवादीको ३६ सिट जितेको थियो।
कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेसको बहुमत आउने, आगामी पाँच वर्ष एकल सरकार चलाउने गरी गठबन्धन गर्ने निर्णय नै गरिसकेको छ। सत्ता गठबन्धनका अन्य दलले पनि गठबन्धनबारे गम्भीर भएर छलफल गर्नुपर्ने बताउँदै आएका छन्।