काठमाडौंँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओको हालै सम्पन्न चार दिने नेपाल भ्रमणपछि नेपालको वाम राजनीतिमा सकरात्मक संकेत देखिएको छ ।
लिउ स्वदेश फिर्ता भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा जानुभएको थियो । भारत भ्रमणका क्रममा उहाँले त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्षसहित प्रभावशाली नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
यसैबीच मंगलवार माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच छलफल भएको छ।
सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटमा दुई शीर्ष नेताबीच वाम एकता गरेर जाने विषयमा औपचारिक छलफल भएको स्रोतको भनाइ छ । भेटमा उहाँहरुबीच समाजवादी केन्द्र नामक नयाँ पार्टी गठन गरेर एकतावद्द भएर जानेबारे छलफल भएको स्रोतको दाबी छ ।
भेटमा दाहालको भारत भ्रमण, आगामी निर्वाचन, र समसामयिक विषयमा छलफल भएको डा भट्टराईको सचिवालयले जनाएको छ ।
दाहाल र भट्टराईबीच छलफल भए लगत्तै मंगलवार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनालसँग समेत छलफल हुने बताइएको छ । चार पूर्व प्रधानमन्त्रीहरुबीच समाजवादी केन्द्र गठन गरेर जाने विषयमा गहन छलफल हुने अनुमान गरिएको छ । उक्त छलफलमा पछिल्लो समय वाम एकताको पहल गर्ने घोषणा गर्नुभएका वाम नेता वामदेव गौतम समेत सहभागी हुने बताइएको छ ।
माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका झलनाथ खनाल लगायतका नेताहरुले नयाँ वाम शक्ति निर्माण गर्ने पहल पहिलेबाटै गर्दै आउनुभएको थियो । पछिल्लो समय जनता समाजवादी पार्टी जसपाबाट अलग भएका भट्टराई र नेता गौतमले पनि वाम एकतामा जोड दिदै आउनुभएको छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी निर्वाचन अगावै वाम एकता हुनसक्ने अभिव्यक्ति दिदै आउनुभएको छ ।