काठमाडौं । प्रदेश–१ को नामबारे छलफल गर्न प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
लामो समय वितिसक्दा समेत प्रदेशको नामबारे साझा धारणा आउन नसकेपछि सभामुखले सर्वपक्षीय छलफल डाकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
छलफलमा दलहरुबीच साझा सहमति गराउने प्रयास गरिने पराजुलीले बताउनुभयो ।
भण्डारीले प्रदेशसभाका संसदीय दललाई पत्राचार गरी साउन ६ गते शुक्रबार सर्वदलीय बैठक राखिएको जानकारी गराउनुभएको छ ।
यसै अधिवेशनबाट प्रदेश १ को नामकरण गर्ने दलहरुको प्रतिवद्धता छ । तर दलहरुले साझा नाम अझै टुंगो लगाउन सकेका छैनन्।
एमालेले प्रदेशको नाम कोसी राख्नका लागि छलफलमा प्रस्ताव राखेको छ।
कांग्रेस संसदीय दलले सप्तकोसी छलफलमा लगेको छ। यस्तै माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ।
प्रदेश १ को नाम भौगोलिक आधारमा राख्ने र जातीय पहिचानको आधारमा राख्ने विषयमा विवाद रहेको छ।
राजनीतिक दलहरुले आ–आफ्नो अडान नछाडेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन।
सहमति नभए संसदीय प्रकृयामा लगेर नामबारे छलफल गराउने तयारीमा रहेको पराजुलीले बताउनुभयो।
प्रदेशसभाको बैठक साउन ८ गतेका लागि बोलाइएको छ । आगामी आर्थिक वर्षको बजेट पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन ।
यसैबीच किरात राई यायोक्खाले प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन्।
सोमवार भएको घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन्। उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । घेराउपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र प्रदान गर्ने र प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको छ ।