काठमाडौँ । पछिल्लो समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ ।
गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी गत वर्षभन्दा यो वर्ष तीन दशमलव ७४ गुणाले वृद्धि भएको हो ।
कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो ।वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष (असार ३० गतेसम्म) छ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा चार लाख ६१ हजार ८०५ ले बढी हो ।
चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा बढी मङ्सिर महिनामा रहेको छ । मङ्सिर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमशः साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य मुलुक साउदी अरब र कतार बनेका छन् । आव २०७८र७९ मा साउदी अरबका लागि एक लाख ८८ हजार ३९६ जनाले र कतारमा एक लाख ८४ हजार ५०३ जनाले श्रमस्वीकृति लिएका छन् । सो अवधिमा सबैभन्दा कमले श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन् ।
आव २०७७र७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आव २०७६र७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।
सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको २९ वर्षमा चालू आर्थिक वर्ष सबैभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो ।
पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्नुुमा दुुई कारण रहेको भन्दै वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईको ठम्याइ छ । उहाँका अनुसार पहिलो कारण देशमा बढ्दो बेरोजगारी हो भने दोस्रो कारण पछिल्ला दुई वर्ष कोरोनाका कारण जान नपाएका व्यक्ति पनि विदेश जान थालेकाले यो सङ्ख्या उच्च रहेको बताउनुभयो । मुलुकको आन्तरिक रोजगारीका अवसरमा आएको कमी र गन्तव्य मुलुकमा दुई वर्ष श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको र अर्को वर्ष अझै बढ्न सक्ने उहाँको भनाइ छ ।
श्रमविज्ञ डा। गणेश गुरुङले नेपालमा कोभिड–१९ विरुद्धको खोपमा पहुँच र श्रम गन्तव्य देशमा स्वास्थ्य मापदण्ड खुकुलो भई वैदेशिक रोजगारीमा जान नपाएका युवा यो वर्ष रोजगारीमा जान सुरु गरेका कारण श्रम स्वीकृतिको सङ्ख्या बढेको बताउनुभयो ।