काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाउनुभएको छ ।
जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गर्नुभएको हो । देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरुको व्यवस्थापन भए पनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाउनुभएको छ । पार्टीभित्रै नेतृत्वले नेता कार्यकर्तामाथि तिरस्कार गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ,’ केसीको लिखित धारणामा उल्लेख छ ।
उहाँले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई गठबन्धनको वैशाखी आवश्यक थियो या थिएन भन्नेबारे बहस गर्नुपर्ने बताउनुभयो। उहाँले चुनावी गठबन्धन तात्कालीक रणनीतिमात्र भएको दाबी गर्दै यो नै गन्तव्य र लक्ष्य नभएको जिकिर गर्नुभयो । उहाँले संघीय र प्रदेशको निर्वाचनमा कांग्रेसलाई गठबन्धन आवश्यक छ या छैन भन्नेबारे छलफल गरेर सम्मानजनक हैसियत रक्षा गर्ने स्पष्टता मापदण्ड बनाउनुपर्ने पनि बताउनुभयो ।
नेता केसीले देश दिनानुदिन आर्थिक संकटमा फस्दै गएको अवस्थामा सरकार हातहतियार किन्न उद्दत रहेको प्रति असन्तुष्टि जनाउँदै त्यसको औचित्य के भन्दै प्रश्न गर्नुभएको छ । नेता केसीले देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको औचित्यबारे समेत प्रश्न उठाउनुभएको छ ।
उहाँले विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिका विषयमा सरकारले सर्वदलीय छलफल गर्नुपर्ने, बजेट निर्माणका क्रममा बाहिरी मान्छेहरुको हस्तक्षेप रहेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।