काठमाडौं । प्रतिनिधि सभाले २९ महिनापछि उपसभामुख पाउने भएको छ ।
रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।
उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।
संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।
यसैबीच सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने तयारी गर्नुभएको छ ।
यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बन्नुभएको थियो । तुम्वाहाङ्फे २०१ मत पाउँदा भुसालले भने ५८ मत मात्र प्राप्त गर्नुभएको थियो ।
प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।