काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।
तत्कालीन प्रधानमन्त्री नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा भङ्ग गरी देशलाई अनिश्चयको दिशातर्फ धकेलेपछि सर्वोच्च अदालतले दुई पटक नै प्रतिनिधि सभा ब्युँताइदिएको थियो । दोस्रो पटक ब्युताउँदा भने नयाँ सरकार गठनको मार्ग पनि प्रशस्त गरिदिएपछि २०७८ असार २९ गते देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराइसकेको छ ।
संसद्लाई पुनः गतिशील बनाएको सरकारले यो अवधिमा संसद्मा विचाराधीन विधेयकहरूमाथिको छलफल सकेर पारित गरिएको छ । नागरिकता विधेयक अघि बढाउने प्रयासमा सरकार छ । तर यहीबीचमा एमसीसी पारित गरेपछि सरकारको आलोचना पनि भएको छ । त्यसलगत्तै एसपीपी समेत चर्चामा आएपछि आम जनता थप सशंकित बनेका छन् ।
यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले गठबन्धन सरकारको एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल बनेको निष्कर्ष निकालेको छ ।
एमाले नेता गोकर्ण विष्टले गठबन्धन सरकारको एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल बनेको टिप्पणी गर्नुभएको हो ।
बुधबार सामाजिक सञ्जाल मार्फत एमाले सचिव विष्टले सरकारको मूल्यांकन गर्दै वर्तमान सरकार बनेपछि राष्ट्रिय स्वाधिनता र आत्मसम्मान थप कमजोर बनेको जिकिर गर्नुभएको छ ।
उहाँले गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारका बीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बितेको जिकिर गर्नुभएको छ ।
राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गरेको उहाँको आरोप छ ।