काठमाडौं । आइतवार मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ ।
सरकारले बकर इदका अवसरमा आइतवार सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायतमा भीड लाग्छ ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस्तै आज हिन्दू धर्मावाम्वीहरुले हरिशयनी एकादशी मनाइदैछ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।
आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन ।
आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । त्यसैले आजको दिनलाई तुलसी रोपण एकादशी पनि भनिन्छ ।
घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ। भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ।
तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन् । काठमाडौंको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
हिन्दू अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन् ।