काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।
बुधबार प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ (१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ (१) बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको जानकारी दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायतसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले १२० दिनको समय अवधि हुने गरि नै निर्वाचनको मिति दिने जवाफ दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको पनि थपलियाले बताउनुभयो ।
आयोगले प्रस्तुत गरेको मितिका सन्दर्भमा भने प्रधानमन्त्री देउवाले छलफल गर्न आवश्यक रहेको जवाफ दिनुभएको थियो ।