काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ ।
विचाैलियासँग मिलेर करकाे दरका हेरफेर गरेकाे आराेप लागेपछि उहाँले बुधवार राजीनामा दिनुभएकाे हाे ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।
सम्बोधनका क्रममा बजेट निमार्णका क्रममा आफूले गल्ती नगरेको दाबी गर्नुभएका उहाँले छानबिन समितिलाई मार्गप्रशस्त गर्दै राजीनामा दिएको बताउनुभयो ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
अर्थमन्त्री शर्मामाथि छानविन गर्न बुधवार ११ सदस्यीय छानविन समिति गठन भएको छ ।
संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहनुभएको छ । समितिलाई १० दिनको समय दिइएको छ ।