काठमाडौं। निरन्तरको वर्षाका कारण पहिरो जाँदा देशका विभिन्न राजमार्ग र सडकखण्डहरु अवरुद्ध भएका छन् ।
बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिरोले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।
लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।
यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिरोले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।
यता पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड पनि अवरुद्ध भएको छ । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा बुधवार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
उता अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।
उहाँले वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला–ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन अवरुद्ध भएको बताउनुभयो । त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने उहाँको भनाइ छ । सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी मर्कामा परेका छन् । यहाँ असार लागेयता मात्र सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर लामो छ ।