काठमाडौँ । सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि गम्भीरताका साथ लाग्ने निर्णय गरेको छ ।
शनिवार बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत बोलाएर पेट्रोलियम पदार्थसँगै त्यसका कारण भएको मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
गठबन्धनको निर्देशनपछि सरकारले शनिबार राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थमा सरकारले लिने कर कटौती गरेको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लिने करमध्ये डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । सरकारले लिने कर कटौतिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिवार मध्यरातिदेखि लागू हुने गरि डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ मूल्य कायम भएको छ ।
गठबन्धनले पेट्रोलियम पदार्थसँगै अन्य उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि समेत नियन्त्रण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धन बैठकपछि प्रधानमन्त्री देउवाले सबै उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि पनि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वभाविकरुपमा घट्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले सरोकारवाला मन्त्रालयहरूलाई करको दर कटौती गरेर भए पनि सबै उपभोग्य वस्तुको बजार मूल्यबारे अनुगमन गर्न र मूल्यवृद्धि रोक्न निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।