काठमाडौं । राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले मन्त्रिमण्डल हेरफेर गर्दा समस्या आउँने बताउदै राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने मनस्थिति बनाउनुभएको बताइएको छ ।
मन्त्रिमण्डल हेरफेर गर्न नेकपा एकीकृत समाजवादीले निरन्तर दबाब दिदै आएको छ । तर प्रधानमन्त्री देउवा भने बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने योजनामा रहनुभएको छ ।
अहिले नै मन्त्रिमण्डल हेरफेर गर्दा सबैलाई मन्त्री बनाउनु पर्छ भन्ने दबाब बढ्ने प्रधानमन्त्रीको भनाइ छ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने प्रधानमन्त्रीले आन्तरिक समस्या देखाएर मन्त्रिमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भन्ने आफ्नो पार्टीको ठहर रहेको बताउनुभयो ।
बिहीबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्वयन गराउनका लागि प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिन अध्यक्ष माधवकुमार नेपाललाई निर्देशन दिएको थियो ।
दुई साताअघि एकीकृत समाजवादीले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।
पार्टीको निर्णय कार्यान्वयन गराउनका लागि अध्यक्ष नेपालले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिए पनि प्रधानमन्त्रीले ‘बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने’ भन्दै आनाकानी गर्नुभएको थियो ।
एकीकृत समाजवादीबाट मन्त्रीमण्डलमा नयाँ अनुहार थपेपछि कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल थप तीन पार्टीबाट पनि नयाँ अनुहार थप्नु पर्ने दबाब आउने प्रधानमन्त्री देउवालाई डर छ । त्यसैले उहाँले बजेट अधिवेशन सकिएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने पुनः दोहोर्याउनुभएको छ ।