काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिनसक्ने बताउनुभएको छ ।
मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूलाई शीर्ष नेताहरुको चुनावी क्षेत्रबाट चुनाव लड्न मन लागेको बताउनुभयो । उहाँले झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको बताउनुभयो । तर नेतालाई राजनीतिमा हार्ने सुविधा नहुने प्रष्ट पार्दै उहाँले सुझबुझका अनुकुलता हेरेर उम्मेदवारी दिने बताउनुभयो ।
अबको निर्वाचनमा जान्नेलाई छान्ने र त्यसको सुरुवात आफूहरुले गर्ने उहाँको भनाइ थियो ।
यसैबीच, लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरिएको छ । पार्टीले चुनाव चिह्न घन्टी प्रस्ताव गरेको छ ।
घोषणा समारोहमा उहाँले आफ्नो पार्टीका संरचनाबारे पनि जानकारी गराउनुभएको छ । उहाँले नवगठित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराउनुभएको हो ।
लामिछानेले आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गर्नुभएको छ ।
उहाँले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गर्नुभयो । बदलामा स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने योजना रहेको उहाँले बताउनुभयो ।
लामिछानेको नयाँ पार्टीको सात व्यवस्था यस प्रकार छन् :
१ प्राइमेरी निर्वाचन हुने
२ युवालाई ५० प्रतिशत एकको व्यवस्था
३ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४ राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५ डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६ परिवारवादलाई पूर्ण रूपमा निषेध
७ भ्रातृसंगठन र कार्यकर्तारहित