काठमाडौं । सम्बोधन, प्रवचन र कार्टुनजस्ता सार्वजनिक अभिव्यक्तिमा पनि प्रतिलिपी अधिकार (कपिराइट) सुरक्षित हुने गरी संसदमा पुगेको विधेयक अगाडि बढेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ‘प्रतिलिपी अधिकार ऐन २०५९ को संशोधन विधेयक’ राष्ट्रिय सभामा १९ जेठ २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको थियो । यो विधेयक विषयगत समिति विधायन व्यवस्थापन समितिमा दफावार छलफल सकिएर आइतबार समितिको प्रतिवेदनसहितको विधेयक पुनः संसदमा पेश भएको छ ।
हाउसमा पेस भएको विधेयकको प्रतिवेदनअनुसार यो विधेयकले कानुनको रुप लिएपछि सम्बोधन, प्रवचन, कार्टुन र अनुवाद रचनामा पनि प्रतिलिपी अधिकार सुरक्षित रहनेछ ।
सरकारले नेपालको प्रतिलिपी अधिकार ऐनलाई प्रतिलिपी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धी र वर्न महासन्धि अनुरुप बनाउन यस्तो प्रावधान राख्नुपरेको तर्क गरेको थियो । यो तर्कमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू सहमत भएका छन् । अब सिंगो राष्ट्रिय सभा सहमत भएको खण्डमा पारित भएर प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले पनि पारित गरेपछि सभामुख मार्फत राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि यो प्रावधान ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।
राष्ट्रिय सभामा पेश भएको विधेयकको प्रतिवेदनमा समाचारमा कपिराइट नलाग्ने हालको प्रावधानलाई भने निरन्तरता दिइएको छ । यस्तै, दृष्टिविहीन र दृष्टि क्षमता न्यून भएका व्यक्तिका लागि कुनै रचना अनुमति नलिई पुनरूत्पादन र वितरण गरे पनि प्रतिलिपी अधिकार दाबी गर्न नपाइने व्यवस्था पनि विधेयकमा राखिएको छ ।
यसअघि दृष्टिविहीनको उपयोगका लागि कुनै रचना पुनरुत्पादन गर्दा पनि प्रतिलिपी अधिकार आकर्षित हुने व्यवस्था ऐनमा थियो । तर यसलाई वर्न महासन्धि र प्रतिलिपी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिअनुसार नेपालमा पनि दृष्टिविहीनलाई यो अधिकार दिन लागिएको छ ।
विधेयकको प्रतिवेदनमा अप्रकाशित रचनामा पनि प्रतिलिपी अधिकार आकर्षित हुने व्यवस्था गरिएको छ । यसअघि प्रकाशित रचनामा प्रतिलिपी अधिकार धनीको मृत्यु भएको ५० वर्षसम्म अधिकार रहने व्यवस्था थियो, तर अप्रकाशित रचनाको हकमा केही उल्लेख थिएन ।
विधेयकको प्रतिवेदनमा अप्रकाशित रचनाको प्रतिलिपी अधिकार रचयिताको जीवनभरसम्म रहने उल्लेख छ, यदि रचयिताको मृत्यु भइसकेको भए मृत्यु भएको वर्षबाट ५० वर्षसम्म रहने उल्लेख गरिएको छ ।
दुई जना रचयिता भएको अवस्थामा पछिल्लो रचयिताको मृत्यु भएको पचास वर्षसम्म अधिकार कायम रहने उल्लेख गरिएको छ । त्यस्तै, कसैले प्रतिलिपी अधिकार धनीबाट रचना प्रकाशन वा पुनरुत्पादन गर्न अनुमति लिएपछि तीन वर्षभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था राखिएको छ । तीन वर्षसम्म पुनरुत्पादन नगरेमा त्यस्तो हस्तान्तरण स्वतः रद्ध हुने विधेयकको प्रतिवेदनमा उल्लेख छ ।