काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले साँस्कृतिक सहर काठमाडौंलाई विश्वकै नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाउनुभएको छ ।
आइतबार मेयर शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाउनुभएको हो ।
‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताउनुभयो ।
सामाजिक विकाससँग सम्बन्धित काठमाडौं महानगरपालिाको नीति :
१ महिलालाई सीपमूलक तालिम दिई आय आर्जनका क्रियाकलापमा सहभागी गराइनेछ । महिलाले संचालन गर्ने ब्यवसायका लागि सहकारी गठन, बीउपूँजी र ब्यबस्थापन तालिम प्रदान गर्ने ब्यवस्था मिलाइनेछ ।
२ महिला बिरुद्ध हुने सबै किसिमका भेदभाव, कुरीति, हिंसा अन्त्य गर्न महिला जागरण तथा वित्तीय साक्षरता, कानुनी सारक्षता, शसक्तिकरणका कार्यक्रम वडातहबाट समेत संचालन गरिनेछ ।
३ बाबुआमा विहीन महानगरवासी बालबालिकाको संरक्षणका लागि बिशेष कार्यक्रम संचालन गरिनेछ ।
४ बालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
५ विपन्न, दलित, आदिवासी, अपाङ्गता भएका बालबलिकाहरुका लागि बिशेष संरक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।
६ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बाल संरक्षण गृहमा रहेका बालबालिकाहरुलाई सम्बन्धित स्थानीय तहसंगको समन्वयमा परिवारमा पुनर्मिलन गराउने नीति लिइनेछ ।
७ सम्बत २०७९ असार मसान्तसम्म ७५ बर्ष उमेर पुरा भएका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजारका दरले बार्षिक १२ हजार उपलब्ध गराउंदै आएको महानगर बिशेष भत्तालाई निरन्तरता दिइनेछ ।
८ ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइनेछ । ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिहरुलाई काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुसँग समन्वय गरी नेपाल सरकारले तोकेका औषधीहरु निः शुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गरिनेछ ।
९ ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिनेछ ्र वडामा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्रहरुसँग सहकार्य गरी कार्यक्रम संचालन गरिनेछ ।
१० ज्येष्ठ नागरिकमा देखापर्ने बिशेष रोगहरु (अल्जाइमर्स, पार्किन्सन्स आदि) को उपचार गर्ने अस्पतालहरुसँग सहकार्य गरी ज्येष्ठ नागरिक उपचार कक्ष स्थापना गरी संचालनमा ल्याउन आबश्यक सहयोग र समन्वय गरिनेछ ।
११ काठमाडौँ महानगरपालिकामा रहेका पूर्ण अशक्त क बर्गका नागरिकहरुलाई साबिकमा दिइदै आइरहेको बार्षिक ३ हजारमा वृद्धि गरी ६ हजार प्रदान गरिनेछ ।
१२ अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुका लागि सीप बिकास तथा अपाङ्गता भएका अभिभावकहरुका लागि स्याहार सीपका तालिम कार्यक्रम संचालन गरिने र अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामग्री निशुल्क वितरण गरिनेछ ।
१३ काठमाडौँ महानगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तीयसंस्थाहरुमा अपाङ्गमैत्री एटिएम मेशिन समेत संचालन गर्न आबश्यक समन्वय गरिनेछ ।