भैरहवा । मापदण्ड विपरित सञ्चालित भैरहवास्थित पौवा होटलको स्वीमीङ पुल स्थानीय प्रशासनले बन्द गरेको छ ।
शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरकमा डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन् ।
होटलबाट कुनै पनि प्रकारको सुरक्षा र बचावको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन् । ु
स्वीमिङ पुल संचालन भएसम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनुपर्ने भए पनि उक्त होटलमा त्यस्तो केही नराखेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेका छन् ।
मृतक तुलाधार परिवारको एक मात्र छोरा थिए, उनी ३ दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको थियो । समयमा उद्धार नभएकोले मृत्यु भएको पीडित परिवारले बताए ।
मृतकको शव हाल भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटल सञ्चालक र प्रहरीबीच छलफल जारी छ ।
सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी समझौता गरेको छ । समझौतामा बाल उद्यान भनिएपनि सम्झौता विपरित करोडौंको संरचना बनाएर बाल उद्यानको साटो होटल सञ्चालन गरिएको छ ।
यता पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले घटना हुदा ३ जना सेफटी गार्ड रहेको बताउनुभयो ।
होटलका संचालक तथा कम्पनिका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल संचलन गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।