भैरहवा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताउनुभएको छ ।
बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
सोझासाझा नागरिकलाई ठगेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि कानुनी दायरा ल्याइने उहाँको चेतावनी थियो ।
उहाँले ठगहरुविरुद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरुलाई स्वदेशमा ल्याउन लागेको जानकारी दिनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै वैदेशिक रोजगार व्यवस्थापन कार्यालय स्थापना हुनुपर्छ भन्ने ठूलो आवाज थियो । शाखा संचालनमा आए पछि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भएको छ ।
भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने गरी लाग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यालय स्थापना भएसँगै नरायाणी वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुनेछ ।
शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जानकारी दिएको छ ।