काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लाएन काठमाडौं आइपुग्नुभएको छ ।
उहाँ अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै चार दिने भ्रमणको लागि बिहीबार नेपाल आइपुग्नुभएको हो । अमेरिकी सहयोग नियोग (एमसीसी) अनुमोदनपछि नेपालमा उच्चस्तरीय अमेरिकी गतिविधि बढिरहेको समयमा चाल्र्स नेपाल भ्रमणमा आउनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र प्रधानसेनापति शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व उहाँ नेपाल भ्रमणमा आउनुभएको हो ।
प्रधानमन्त्री र प्रधानसेनापति अमेरिकाको भ्रमणमा निस्किनुअघि अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
चार दिन नेपालमा रहँदा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ ।
यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरता भनिएको छ ।
कतिपय विश्लेषकहरूले जेनरल फ्लिनको भ्रमणलाई तीन सातापछि हुन लागेको नेपालका प्रधानसेनापतिको पेन्टागन भ्रमणसँग पनि जोडेर हेरेका छन् ।
यस्तो छ भ्रमण तालिका
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार जेनरल फ्लिन सद्भावना भ्रमणमा आउनुभएको हो । उहाँले शुक्रबार जङ्गी अड्डाको भ्रमण गरी महत्त्वपूर्ण भेटवार्ता गर्ने सिलवालले बताउनुभयो । त्यस क्रममा सैनिक मुख्यालय भद्रकालीमा उहाँलाई गार्ड अफ अनर अर्थात् सम्मान गारद दिने कार्यक्रम रहेको छ ।
शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ । आइतवार बिहानै उहाँले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्नुहुनेछ ।
त्यहाँबाट फर्केर उहाँ काठमाण्डौंको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र शिक्षार्थीहरूलाई सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ ।