काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टीको बैठकमा कुटाकुट भएको छ ।
धनुषाको जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनुहुन्थ्यो ।
समीक्षा बैठकमा जसपाका एक पक्षले माओवादीलाई मत दिएको आरोप लगाएपछि विवाद उत्पन्न भएर दुई पक्षको बीचमा कुटाकुट भएको थियो । समीक्षामा धनुषाको सवैला नगरपालिकाको प्रसंग उठेको थियो । त्यहाँ कांग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जित्यो ।
सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले पार्टीका केन्द्रीय सदस्य साधु यादवले पार्टीलाई सहयोग नगरेर माओवादी केन्द्रका लागि मत मागेको आरोप लगाउनुभएको थियो । अध्यक्ष रायले बैठकमा पार्टीकै जिम्मेवार व्यक्ति साधु यादवले आफ्नो उम्मेदवारका लागि मत नमागेर माओवादी केन्द्रका लागि मत मागेको प्रमाण आफूसँग भएको भन्दै तुरुन्त एक्सन लिनुपर्ने बताउनुभएको थियो ।
गठबन्धनको उम्मेदवार हार्नुमा आफ्नै पार्टीबाट अन्तर्घात भएको भन्दै यसको मुख्य दोषी साधु यादव भएको भन्नेवित्तिकै उहाँमाथि कुटपिट भएको थियो । बैठकमा रहेका साधु यादव पक्षका कार्यकर्ताहरुले वैद्यनाथ यादवमाथि कुटपिट गर्न थालेपछि दुई पक्षबीच झडप भएको धनुषा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद यादवले बताएउनुभयो ।
स्रोतका अनुसार साधु यादव माओवादी पृष्ठभूमिका हुनुहुन्छ । माओवादीका नेता मातृका यादव र साधु यादवबीच पहिलादेखि राम्रो सम्बन्ध थियो । सवैला नगरपालिकामा माओवादी केन्द्रका नेता मातृका यादवका दाजु कारी यादव मेयरमा निर्वाचित हुनुभएको छ । बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते भएको जनाइएको छ ।
जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का प्रहार गर्नुभएको थियो ।