काठमाडौँ । निर्वाचन आयोगले आगामी असार १ गतेबाट मतदाता नामावली दर्ता शुरु गर्ने भएको छ ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट समेत हटाउने तयारी गरेको छ ।
अब स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने अर्यालको भनाइ छ । आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ । त्यसका लागि आफ्नो नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।
यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सोबारेमा भने कसरी जाने निर्णय गरिसकेको छैन ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।
कात्तिक अन्तिमदेखि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी आन्तरिक तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले सरकारबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मिति तोकिएपछि भने नामावलीमा नाम दर्ता गर्नेछैन । नामावली दर्ता रोकिएपछि आयोगले नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गर्नेछ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ । आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो ।