काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ ।
जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । शनिवार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनुहुनेछ । गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन छ ।
मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन ।
यो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको हो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
यो जात्राबारे रोचक किम्बदन्ती छ ।
किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो ।
किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन ।