काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडूले ग्याँसमा पनि स्वाचालित मूल्य प्रणाली कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बडूले आयल निगम निरन्तरको घाटाले टाट पल्टिने अवस्थामा पुगेको बताउदै ग्याँसमा पनि स्वाचालित मूल्य प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने उहाँले बताउनुभयो ।
‘पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारमाथि दबाब पर्छ । नबढाउँदा निगमको घाटा बढिरहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले बताउनुभयो ।
उहाँले अब खाना पकाउने एलपी ग्याँसमा अनुदान दिन नसकिने बताउनुभयो । त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रीकाअनुसार पेट्रोलियमम पदार्थको मूल्य बढ्दै जाने र सरकारले अनुदान दिँदै जान नसक्ने बताउँदै आन्तरिक उत्पादन विद्युतमा अनुदान दिनुपर्ने जिकिर गर्नुभयो ।
नेपालमा पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य कार्यान्वयन गरे अत्यावश्यक वस्तु ग्यासको मूल्य २६ सय ५० रुपैयाँ कायम हुने भएको छ ।
हाल ग्याँसमा सरकारले अनुदान दिँदै आइरहेको छ । जसका कारण उपभोक्ताले १ हजार ६ सय रुपैयाँमा पाउँदै आएका छन् । त्यसबाहेकको १ हजार ५० रुपैयाँ सरकारले अनुदान दिँदै आएको छ ।